Okhaldhunga
ओखलढुङ्गा जिल्ला
ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने विकट पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजारबाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। यूगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
जाति, भाषा र सस्कृति
सुनुवार , राइ, लिम्बु, गुरुङ, तामङ्, शेर्पा, घार्ति, भुजेल, नेवार, क्षेत्री, बावन्, कामि(बिशोकर्म) दमाइ(परियार), थापा आदि,
जिल्लाको नामाकरण
ओखलढुङ्गा जिल्लाको नामाकरणका बारेमा निम्न धाराणाहरू रहेको पाइन्छ :
- महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहेको जनविश्वास छ।
- मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गतओखलढुङ्गा गाविस वडा नम्बर ६मा सिध्दिचरण पार्कसँगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ।
जिल्लाको इतिहास
प्राचिनकालमा यो क्षेत्रमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ। वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुङ्गाको नामले यस जिल्लाको जन्म भएको हो। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बू, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
भौगोलिक अवस्थिति
- अक्षांश: २७ डिग्री ६ देखि २७ डिग्री ३२ उत्तर
- देशान्तर: ८६ डिग्री १० देखि ८६ डिग्री ३२ पूर्व
- सिमाना: पूर्व-दुधकोशी नदी खोटाङ, पश्चिम-लिखू नदी रामेछाप, उत्तर-सोलुखुम्बु, दक्षिण-सुनकोशी नदी उदयपुर र सिन्धुली
- क्षेत्रफल: १,०७४ वर्ग किलोमिटर (१,०५,८६४ हेक्टर)
- उचाई: समुन्द्र सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटर सम्म
- सबभन्दा होचोठाउँ: जोर्तीघाट, (३९० मिटर) थाक्ले
- सबभन्दा अग्लोठाउँ: लाम्जेडाँडा (३६२७ मिटर) पात्ले
- सदरमुकामको उचाई: १,८४९ मिटर
भौगोलिक विभाजन
डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टारबेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।बेसी क्षेत्र
ओखलढुङ्गा जिल्लाको क्षेत्रफलको १५% अर्थात १६१ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा कम उचाईमा रहेको नदी र खोला किनारका भू-भागहरू पर्दछन। यस क्षेत्रमा मानिसहरूको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती तरकारी खेती पशुपालन माछा मार्ने आदि काम पनि यस क्षेत्रका मानिसहरूले गर्दछन।मध्य पहाडी क्षेत्र
मध्य पहाडी क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको ६५% अर्थात ६९८ वर्ग किलोमिटर क्षेत्रफल भू-भाग ओगटेको छ। सदरमुकाम ओखलढुङ्गाका साथै रुम्जाटार पनि यसै क्षेत्रमा पर्दछ। यस क्षेत्रमा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन आदि गरिन्छ।लेकाली क्षेत्र
जिल्ला कुल क्षेत्रफलको २०% अर्थात २१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटने यस क्षेत्रमा पातलो बस्ती पाइन्छ। यहाँको अधिकांश भू-भाग भिरालो र चट्टानले भरिएको छ। यस क्षेत्रमा पातलो मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य समेत गरेको पाइन्छ।प्रमुख धार्मिक क्षेत्रहरू
ओखलढुङ्गा जिल्लाको विलन्दू गाविस वडा नम्बर ९मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, रावादोलु को छरछरे झरना महादेव (जहाँ तातो पानी बग्छ र माघे सक्रान्तिको दिन भब्य मेला लाग्छ), भुसिंगा को किल्खोर्दिंग गुम्बा, खिजिकाती को गुफा, शेर्पिनीले मुतेको ढुंगा सल्लेरीगाविसको लगलगेमा रहेको ककनीस्थान,दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १मा रहेको पोखरा देवीको मन्दिर, दियालेगाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर वरूणेश्वर गा.वि.स. मा रहेको कालिकादेवि मन्दिर ,माहादेव स्थान ,कुन्तादेवि गाविस मा रहेको कुन्तादेवि र जलजलेश्वर माहादेवको मन्दिर आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन।
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको सवैभन्दा ठूलो व्यापारिक महत्वको स्थान सदरमुकाम ओखलढुङ्गा बजार नै हो। यहाँ बुधबार र शनिवार गरी हप्ताको दुई पटक बजार लाग्ने गर्दछ। व्यापारिक दृष्टिले शनिवारको बजारले विशेष स्थान ओगट्दछ। बुधवार लाग्ने बजार शनिवारको तुलनामा निकै कम लाग्ने गरेको पाइन्छ। केत्तुके र मानेभञ्ज्याङ यस जिल्लाका व्यापारिक दृष्टिले निकै महत्वपूर्ण स्थानको रूपमा रहेका छन। केत्तुकेमा मंगलबार र मानेभञ्ज्याङमा बिहिवार साप्ताहिक रूपमा वजार लाग्ने गर्दछ।
प्रभाव
तिम्रै सुन्दर हरियालिमा , तिम्रै सितल बछ्यस्थल्मा , यो कबिको सैसब्काल् बित्यो , हस्यो खेल्यो बन्कुन्ज घुम्यो , मेरो प्यारो ओखल्धुङ्गा , मेरो प्यारो ओखल्धुङ्गा कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो ओखलढुङ्गा" मा यहि जिल्लाको नामबाट श्रृजना गरेका हुन । यो कवितालाई नारायण गोपालले सुमधुर स्वरले गाउनुभएको छ |
- साहित्यकार एवम समाज शास्त्रि डा कविताराम श्रेष्ठ ले कवि सिद्धिचरण श्रेष्ठ कै पदचिन्हमा "मेरो प्यारो ओखलढुङ्गा" नामक संस्मारणात्मक निबन्ध संग्रह लेखेका छन् । ओखलढुङ्गा सामाजिक गुठि काठ्मान्डुद्वारा प्रकाशित यस पुस्तकले जिल्लाका भौगोलिक, सामाजिक, सान्स्क्रितिक, राजनीतिक, र साहित्यिक गतिविधिका साथै २०५८ सालमा ओखलढुङ्गा जिविस र ओखलढुङ्गा सामाजिक गुठि काठ्मान्डुद्वारा आयोजित "आफ्नो जन्म थलो सम्झौ अभियानको सविस्तार वर्णन गरेको छ।
Comments
Post a Comment